१ चैत्र । सरकारी स्कुलको जग्गा मिलेमतोमा बिक्री गरेको आरोपमा एउटै गाउँका २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो ।
११ वैशाख ०५१ को विद्यालय व्यवस्थापन समितिको बैठकले साविक ढोरफिर्दी गाविसमा रहेको सरकारीरसार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति ९जग्गा० गैरकानुनी रूपमा भोगचलन गराएको अख्तियारको अभियोग छ ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य–सचिव ९प्रधानाध्यापक० यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानिया, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानिया र खडकबहादुर बानियाले एक लाख ६९ हजार ५१ रुपैयाँ लिई सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ । यामबहादुर बानिया, धुनबहादुर, ज्ञानबहादुर र खडकबहादुरको मृत्यु भइसकेको छ ।
त्यस्तै सन्तबहादुर सिजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानिया, बुद्धिमाया विक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूमध्ये लोकबहादुर, डोलराज र धनबहादुरको मृत्यु भइसकेको छ ।










