मधेस प्रदेसमा ४ वर्षे बिटेकएडआइटी कार्यक्रमको सुरुवात


२५ फागुन । काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेसनल स्टडिजको सहकार्यमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी बिटेकएडआइटी नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात गरेको छ ।

यसको औपचारिक घोषणा बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच गरिएको छ । जानकी कलेज नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहयोगी संस्था हो ।

बिटेकएडआइटी कार्यक्रमको उद्देश्य सूचना प्रविधिको क्षेत्रमा प्राविधिक शिक्षक तयार गर्नु रहेको छ ।

चार वर्षे बिटेकएडआइटीको कार्यक्रमलाई ८ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ ।

यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नसिपको लागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्नेछ । यसले अहिले नेपाल सरकारले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई पनि सार्थक तुल्याउने छ ।

चारवर्षे बिटेकएडआइटीमा भर्ना हुनका लागि कुनै पनि संकायबाट १२ कक्षा वा सोसरह वा सिटिइभिटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ । विद्यार्थीहरुको छनोट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाका आधारमा गरिने जनाइएको छ ।

कलेजका अध्यक्ष पंकज जालानले मधेस प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुने धारणा राखेका थिए । यस प्रदेशका जेहेन्दार विद्यार्थीले जनकपुरधाममै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सूचना प्रविधिसँग सम्बन्धित स्नातक स्तरको कार्यक्रममा पढ्न पाउने उनले जानकारी दिए ।

काठमाण्डौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

जानकी कलेजका अध्यक्ष पंकज जालानको अध्यक्षता र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेल र स्टिम शिक्षाका हेड अफ द डिपार्टमेन्ट विनोद पन्तलगायतको सहभागिता थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको