सुनकोशीको सुख्खा क्षेत्रमा ४८ करोडको लागतमा खानेपानी पुर्‍याइँदै


राजन गाँउले

२१ फागुन,सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाको सुख्खा क्षेत्रमा बृहत पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय उपभोक्ताको लागत साझोदारीमा झण्डै ४८ करोड रुपैयाँको लागतमा उक्त आयोजना सुरु भएको हो।

शुक्रबार खानेपानी तथा ढल व्यवस्थापन विभाग, सुनकोशी गाउँपालिका र उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भएसँगै खानेपानी आयोजनाको काम सुरु भएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बताइन्।

जलवायु अनुकुलित बृहत खानेपानी आयोजना जिल्लाकै ठुलो आयोजना हो भने सुनकोशी गाउँपालिकाको लागि गौरबको आयोजना हो। सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ का एक दर्जनबढी बस्तीका २ हजार ७ सय ५४ घरधुरी खानेपानी आयोजनाबाट लाभान्वित हुनेछन्।

सुनकोसी गाउँपालिका ५ मुलकोट स्थित सुनकोशी नदीबाट लिफ्ट गर्दै ठुला ८ वटा रिजर्भ ट्याङ्की निर्माण गरेर गाउँमा पानि पुर्‍याइने छ।‘लिफ्ट आयोजनाबाट वडा नम्बर ५ स्थित नांगेडाँडा, परेवाडाँडा, रामटार, काँसीखर्क, खहरेगाऊँ, मुलकोट र वडा नम्बर ६ को गौंखर्क, अमारे, भन्ञ्याङडाँडा, रिठ्ठे, तिनखोप्रे, माथिल्लो चैनपुर, खाल्टे लगायतका क्षेत्रका स्थानीय लाभान्वित हुनेछन,’ दाहालले भनिन्। गाउँपालिकाका यी बस्तिहरुलाई यस अघि नै अति सुख्खा क्षेत्र घोषणा गरिसकिएको छ।

आयोजनाको कुल लागत ४७ करोड ७९ लाख ६३ हजार ५ सय ७० रुपैयाँ ३१ पैसा रहेको छ। उक्त लागतमध्ये ९० प्रतिशत अर्थात ४३ करोड १ लाख ६७ हजार २ सय १३ रुपैयाँ विभागले र ४ करोड ७७ लाख ९६ हजार ३ सय ५७ रुपैयाँ ३ पैसा स्थानीय उपभोक्ताले व्यहोर्नु पर्ने छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुधिरकुमार शाहाका अनुसार यो आयोजना आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरिने छ। अघिल्ला दुई वर्षमा १३ करोड रुपैयाँ बराबरको काम उपभोक्ता समिति मार्फत गरिएकोमा यो पटक भने सरकारले टेण्डर फर्मात काम गर्ने गरी टेण्डर आह्वान गरिएको छ।

खानेपानीको अभावका कारण वडाका पुरै बस्ती बसाई सर्नुपर्ने अवस्था आएपछि उपभोक्तालाले झण्डै ५ करोड बराबरको नगद र श्रमदान गर्न तयार भएरै भए पनि योजना सुरु गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष सुदिप हायुले बताए। ‘खानेपानीको अभावका कारण बसाई सर्नेहरुको कारण गाउँ रित्तिन थालेपछि संघीय सांसद हरिबोल गजुरेलको विशेष पहलमा यो आयोजना संचालन हुन थालेको हो,’ हायूले भने।

यो आयोजना अन्तरगत दुईवटा वडाका २७ सय ५४ घरधुरीमा एक(एक वटा धारा जडान गरिने छ। यसले खानेपानीका साथै स्थानीयको करेसाबारीमा सिंचाई सुविधासमेत पुग्ने छ। २०७२ को भुकम्पपछि खानेपानीको मुहानहरु समेत सुकेपछी सयौं स्थानीय खानेपानीको समस्यामा परेका थिए।

खानेपानी अभावमा सुख्खा क्षेत्रका नागरीकहरु सुनकोशी गढतिर किनारमा बसाई सर्न बाध्य थिए। तर, यो आयोजना सम्पन्न भएपछि खानेपानीकै समस्याका कारण हुने बसाईसराई रोकिने र गाउँमै कृषी उत्पादन गरेर आयाआर्जन गर्नसमेत सहयोग पुग्ने अपेच्छा गरिएको स्थानीय उपभोक्ता तथा युवा नेता प्रमोद दाहालको विश्वास छ। बहुवर्षीय आयोजना अन्तगतको यो आयोजनाबाट आगामी २५ वर्षसम्म वृद्धि हुने जनसंख्या र सहरीकरणलाई लक्षित गरेर संचालन गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको