१४ फागुन,उदयपुर । पुरुषहरुका लागि शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर उदयपुर’ आज फागुन १४ गते हुने भएको छ । मानवीय स्वास्थ्यसँग जोडीएको व्यायममूलक सो प्रतिस्पर्धा जिल्ला सदरमुकाम गाईघाटस्थित इनर्जी फिटनेश क्लवले आयोजना गर्न लागेको हो ।
गाईघाटस्थित होटल टावनहलमा जिल्लाभरका २० जना ‘बडीविल्डर’को सहभागिता रहने आयोजक समितिका संयोजक मनोज कटुवालले बताए । गाईघाटस्थित होटल टावनहलमा हुने प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने आयोजकको प्रक्षपण छ ।
‘फिनिक्स डिष्टीलरी’ र ‘रिलायबल फूड एण्ड बेभरेज’को शीर्ष प्रायोजन रहने मिस्टर उदयपुरका लागि जिल्ला बाहीरबाट व्यवसायिक निर्णायकहरु ल्याइएका छन् । जिल्लाभित्रका खेलाडीलाई मात्र सहभागी गराइने भएकाले प्रतिस्पर्धामा सहभागी हुन अनिवार्य बसोबास वा स्थायीबासी भएको आधिकारिक प्रमाण आयोजकसमक्ष पेश गर्नुपने नियम खुलाइएको छ ।
प्रतिस्पर्धामा सहभागी हुने प्रतिस्पर्धीले हाल अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा चलीआएको प्रचलन अनुसारका बिभिन्न ७ पोजीशनमा आफ्नो कला प्रस्तुत गर्नुपर्र्नेछ । खेल बिधाकै सुगठन प्रतियोगितामार्फत जिल्लाको पहिचानलाई बढाउन थप टेवा पुग्ने आयोजक इनर्जी फिटनेश क्लवका सञ्चालन समेत रहेका कटुवालको दाबी छ ।
जिल्लाभित्रका सुगठननुरागीहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसअघि नै प्रतियोगिता आयोजना गर्ने निर्णय भएको भएपनी कोरोनाका कारण रोकिएको थियो । उदयपुरमा लामो समयपछि हुन लागेको सो प्रतियोगिताका लागि अनुमान गरिएअनुसारको आवश्यक रकम अझै अपुग रहेकाले सम्बन्धित पक्षलाई प्रायोजकको रुपमा सहयोग गर्नसमेत समितिले अनुरोध गरेको छ ।
आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेले रु। ५१ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् । त्यस्तै दोस्रो स्थान सुरक्षित गर्ने प्रतिस्पर्धीले रु। २५ हजार नगद, तेस्रो पुरस्कार स्वरुप रु। १५ हजारसहित क्रमश ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।
होटल टावनहलकै सभाहलमा आयोजित पत्रकारसम्मेलनमा नेपाल पत्रकार महासंघ उदयपुरका सल्लाहकार भोटराज राई, महासंघका सहसचिव देबराज राई, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो ।
बढ्दो सुबिधाका कारण शरीरलाई आवश्यक कसरतजन्य काम गर्ने बानी हट्दै जाँदा स्वास्थ्यमा नकारात्मक असर परेकाले पनि पछिल्लो समय जिम हाउस तथा जुम्बा सेन्टरहरु शारीरिक अभ्यासहरु प्रभावकारी बन्दै गएका छन् ।









