धनुषा । धनुषास्थित पूर्वपश्चिम लोकमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १६७२ र विपरित दिशाबाट आइरहेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ज १२ प १६७२ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–६ मालटोलका ४२ वर्षिय रामबहादुर गोले मगरको लालगढस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । मृतक मगरको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । सोही दुर्घटनामा बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक सिरहको कर्जन्हा नगरपालिका –५ बस्ने २४ वर्षिय अभिषेक घिमिरेको दायाँपट्टीको टाउको तथा हातखुट्टामा चोटपटक लागेको छ । उनको उपचार ढल्केवरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा भइरहेको प्रनि सुवेदी जानकारी दिए । दुर्घटनामा परेको दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ ।









