३ फागुन,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा जारी छ। बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अमेरिकी परियोजनाका विषयमा छलफल जारी रहेको कांग्रेस सांसद एवं केन्द्रीय सदस्य डा शशांक कोइरालाले जानकारी दिए।

‘बैठकमा रामशरण महतले यसबारे ब्रिफिङ गर्नुभयो। राम्रो हो नेपालको लागि भन्नुभयो। विभिन्न नौवटा देशमा यसको कार्यक्रम चलाएको छ त्यहाँ कुनै अमेरिकी सेना आएको छैन भन्नुभयो,’ डा कोइरालाले भने।
अहिलेसम्म धारणा राखेका सांसदहरुले एमसीसी पास हुनुपर्छ भन्ने धारणा राखेको कोइरालाको दाबी रह्यो। ‘एमसीसी पास हुनुपर्छ भन्ने मुल कुरा हो,’ कोइरालाले भने, ‘आज एमसीसीकै एजेन्डा हो।’
उनले भोलिको संसदमा एमसीसी टेबल हुनसक्नेसमेत बताए। ‘भोलिको बैठकमा पेश हुन सक्ने सम्भावना छ,’ कोइरालाले भने। भोलि बुधवार संसद बैठक बस्दैछ।
कांग्रेसले यसअघि कार्यसम्पादन समितिमा पनि एमसीसीबारे छलफल गरेको छ। गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि चौतर्फी प्रयास जारी राखेका छन्।

बैठकमा आफूले कुनै पनि हालतमा एमसीसी पारित गर्नुपर्ने भनाई राखेको पूर्व अर्थमन्त्री डा रामशरण महतले बताए। उनले नेपालमा कतिपयले अमेरिकासँग सम्बन्ध बिगार्न एमसीसीबारे अफवाह फैलाएको दाबी गरे।
‘महालेखा परीक्षक पनि नेपालकै हुन्छ। इन्टेलेक्चुअल प्रोपर्टी पनि नेपालकै हुन्छ। अमेरिकासँग सम्बन्धन बिगार्ने प्रयास भएको छ। बीआरआइको खिलापमा एमसीसी छ भन्ने आरोप पनि रहेछ। यो पनि भ्रम हो,’ महतले भने। फागुन १६ सम्म यो परियोजना पारित नभए देशलाई आर्थिक नोक्सान हुने उनको तर्क थियो।
‘इन्डो प्यासेफिकसँग पनि यसको कुनै नाता छैन। फागुन १६ सम्मा पारित नभए नेपालका लागि आर्थिक नोक्सान हुन्छ। अमेरिकाले यत्रो अनुदान राष्ट्रको हितमा छ। यो लिएन भने अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ। अनिवार्य एमसीसी पारित गर्नुपर्छ। यो चीनको खिलापमा पनि छैन,’ महतले भने।










