२६ माघ । पछिल्लो समय रौतहटको राष्ट्रिय वनभित्र वन्यजन्तुको संख्या बढेको छ । वनमा विभिन्न प्रजातिका जनावरको संख्यामा बढोत्तरी भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

गत वर्ष चन्द्रपुर–६ स्थित तुरतुरेधारा वनक्षेत्रमा पाटेबाघको आक्रमणमा परी एक युवकको मृत्युपछि वन कार्यालयले वन्यजन्तुको अवस्था पत्ता लगाउन क्यामेरा जडान गरेको थियो । यस वर्ष वन्यजन्तु ओहोरदोहोर गर्ने र वासस्थान क्षेत्रमा एक सय २२ स्थानमा क्यामेरा राखिएको छ । गत वर्ष क्यामेरामा पाँचवटा पाटे बाघ कैद भएकोमा यस वर्ष बढ्न सक्ने अनुमान गरिएको वन्यजन्तु प्राविधिक टीकाराम थारूले बताए ।
वनमा बाघसँगै अन्य वन्यजन्तुको संख्या पनि बढेको छ । तुरतुरे, लमाहा, सत्तेरी, गैँडाटार, जुडिबेला क्षेत्रमा बाघको गतिविधि बढेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।रौतहटको वन वन्यजन्तुको बासस्थानका रूपमा विकसित हुँदै गएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले बताए । पर्याप्त घोल, झाडी र सिमसारका कारण वन्यजन्तु बढेको हो । वेलावेलामा चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा, हात्ती, बाघ यही क्षेत्रमा आएर बस्ने गरेका छन् ।

पछिल्लो समय बाघ, गैँडा, हात्ती, नीलगाई, हरिणलगायत वन्यजन्तु तराईको जंगलमा देखिन थालेको छ । पर्सा निकुञ्जदेखि पूर्वी क्षेत्र बकैया र चन्द्रनिगाहपुर, गैँडाटार, हिलेखोला, जुडिबेला, जंगलसैया वनक्षेत्र गैँडालगायत वन्यजन्तुको वासस्थानका लागि राम्रो भएको डिभिजन वन कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख अमरदेव यादवले बताए । यहाँको जंगलमा वन्यजन्तुलाई चाहिने घाँसे मैदान, पानीको स्रोत र आहाल बस्न पर्याप्त घोल रहेको यादवको भनाइ छ ।
राष्ट्रिय वनभित्र सिकारीको गोली वा सवारीको ठक्करबाट घाइते वन्यजन्तुको उपचारका लागि डिभिजन वन चन्द्रनिगाहपुरले वन्यजन्तु उद्धार गृह सञ्चालनमा ल्याएको छ । उद्धार गृहलाई मोटो फलाम जडान गरी चारैतिर रडको जालीले घेरेर बनाइएको छ । यसभित्र चार÷पाँचवटासम्म वन्यजन्तु राख्न सकिन्छ ।

केही दिनअघि घाइते अवस्थामा फेला परेको एउटा निलगाईलाई फेला पारेर उद्धार गृहमा राखी उपचारका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको थियो । पूर्व–पश्चिम राजमार्गको धन्सार–बाग्मती खण्डमा दिनहुँ हरिणको झुन्ड बाटो काटेर ओहोरदोहोर गर्छन् । घाइतेलाई तत्काल उपचारका लागि उद्धार गृहमा ल्याइने र निकुञ्जका चिकित्सकसहितको टोलीलाई उपचारका लागि पठाइने डिभिजन वनका निमित्त प्रमुख यादवले बताए । रौतहटको वनमा जनावर बढेसँगै चोरीसिकारीसमेत बढेको छ ।










