१४ माघ । उदयपुरमा सडक नाली खन्नेक्रममा माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार त्रियुगा नगरपालिका १० बोक्सेका ५६ वर्षिय झर्कबहादुर सार्कीको मृत्यु भएको हो ।
घर नजिकको सडक नाली बनाउनका लागि खन्नेक्रममा माथिको माटोको ढिस्को बग्दा सार्कीलाई पुरेको हो । माटोको ढिस्कोले पुरे लगत्तै स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए ।
शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सार्कीलाई थप उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा उपचारका क्रममा बिहीबार राती मृत्यु भएको डीएसपी गौतमले बताए ।










