२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय कंग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको बताएका छन् ।
उनले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाए । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेकाभन्दै उनले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताए । उनले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गरे ।
नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गरे । उनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताए । उनले यस्तो भारतमा पनि देख्न नपाएको धारणा राखेका हुन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको बताए । केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।
नेपालको बारेमा भारतका प्रधानमन्त्री मोदी निकै चिन्तित रहेको बताउँदै नेता हर्षवर्धनले नेपाल–भारत बीचको सम्बन्ध अद्भुत रहेको बताए । नेपाल–भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल अझ समृद्ध होस् भनी कामना गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिए ।
नेपालबहस









