स्वीकृत नहूदा पाठ्यक्रम, छापिएनन्


१४ भदौ, काठमाडौँ । शिक्षा मन्त्रालय मन्त्रीविहीन हुँदा करिब डेढ महिनादेखि कक्षा ११ को प्राविधिकतर्फको पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रको ढिलाइका कारण कक्षा १२ का विद्यार्थीले अनिवार्य विषयको पाठ्यपुस्तक पनि पाउन सकेका छैनन् ।

कक्षा ११ प्राविधिक धार र कक्षा १२ साधारण धार को नयाँ पाठ्यक्रम यस वर्षदेखि लागू हुने तयारीमा छ । तर शिक्षामन्त्रीले अध्यक्षता गर्ने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । शिक्षामन्त्री नहुँदा परिषद्को बैठक डाकेर पाठ्यक्रम स्वीकृत गर्न नसकेको केन्द्रका सूचना अधिकृत गणेश भट्टराईले जानकारी दिए ।

परिषद्बाट पाठ्यक्रम प्रारूप स्वीकृत भएपछि मात्र पाठ्यपुस्तक तयार पार्ने र पठनपाठन हुने गर्छ । प्राविधिक धारको पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा केही ढिलाइ गरेर भए पनि नयाँ पाठ्यक्रम नै लागू गर्न लागिएको केन्द्रले जनाएको छ । ‘प्राविधिक धारको

पाठ्यक्रममा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत मात्रै सैद्धान्तिक विषयवस्तु हुन्छ,’ भट्टराईले भने, ‘त्यसैकारण पाठ्यपुस्तक छपाइ हुँदैन, केही ढिला भए पनि नयाँ पाठ्यक्रम लागू गर्दा खासै फरक पर्दैन ।’ प्राविधिकतर्फ यसपटक कक्षा ११ मा र आगामी शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुने केन्द्रले जनाएको छ । साधारण धारतर्फ कक्षा ११ मा गत वर्षदेखि नै नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन सुरु भइसकेको छ । कक्षा १० को नतिजा प्रकाशन भएर विद्यार्थी भर्ना हुन थाले पनि पाठ्यक्रम नहुँदा विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन् ।

त्यस्तै कक्षा १२ साधारण धार का विद्यार्थीले पढाइ सुरु भए पनि पाठ्यक्रम हात पार्न सकेका छैनन् । पाठ्यक्रम केन्द्रले पाठ्यक्रम ढिलो तयार गर्दा र जनक शिक्षाले पनि समयमा नै छपाइ नगर्दा विद्यार्थीले बेलैमा पाठ्यपुस्तक पाउन सकेका छैनन् । कक्षा १२ को अनिवार्य नेपाली, अंग्रेजी, सामाजिक अध्ययन वा गणित विषयको पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षाले पाएको छ । नेपाली र अंग्रेजी विषयको पाठ्यपुस्तक छपाइको काम भइरहेको जनक शिक्षाका प्रबन्धक निर्देशक अनिलकुमार झाले जनाए ।

‘पाठ्यक्रमबाटै ढिला गरी छाप्ने सामग्री प्राप्त भयो, अहिले छपाइको काम भइरहेको छ,’ उनले भने, ‘१र२ सातामा देशभर पाठ्यपुस्तक पुर्‍याइसक्छौं ।’ पाठ्यक्रम विकास केन्द्रले सामाजिक र गणित विषयको छपाइ सामग्री भने अझै जनक शिक्षालाई उपलब्ध गराएको छैन । अनिवार्य विषयका पुस्तक छपाइमा ढिलाइ हुँदा निजी प्रकाशन गृहहरूले यी विषयको पुस्तक तयार पारेर बजारमा ल्याइसकेका छन् ।

पाठ्यक्रम केन्द्रका सूचना अधिकृत भट्टराईले सामाजिक र गणित विषयको पाठ्यक्रम तयार पारेर जनक शिक्षालाई नै छपाइमा दिने प्रस्ट्याए । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २०७५ साल कात्तिक १४ गते जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मका

पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने तथा निजी मुद्रकले पनि कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न पाउने निर्णय गरेका थिए । तर कक्षा ११ र १२ का ऐच्छिक विषयका पाठ्यपुस्तक निजी प्रकाशन गृहले नै तयार पार्दै आएका छन् । गत वर्ष कक्षा ११ को अनिवार्य गणित विषयको पुस्तक पनि निजीले नै छापेका थिए ।

सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनक शिक्षाका कर्मचारीहरू बताउँछन् । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक भने निजी र जनक शिक्षाले प्रतिस्पर्धामा बिक्रीवितरण गर्दै आएका छन् । २०७५ अघि कक्षा ५ सम्मको पुस्तक निजीले पनि प्रकाशन गर्न पाउने व्यवस्था थियो तर ३ वर्षपछि पनि स्टक देखाउँदै कक्षा ५ को पुस्तकसमेत निजीले प्रकाशन तथा बिक्रीवितरण गर्दै आएका छन् । जनकले पुस्तक छाप्न ढिलाइ गर्दा निजी प्रकाशकले छापेको सहयोगी पुस्तक विद्यार्थीले किनिसक्ने र जनक शिक्षाको पाठ्यपुस्तकचाहिँ बिक्री नहुने परिस्थिति बन्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको