२3 साउन, काठमाण्डौ । विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गरेको छ ।
अफगानिस्तानको दक्षिण, पश्चिम क्षेत्रमा पर्ने निमरोजको राजधानी जाराञ्ज तालिबान लडाकुले कब्जा गरेको बीबीसीले जनाएको छ।
तालिबान लडाकुले अफगानिस्तानको कयौँ सीमावर्ती चौकीका साथै ठूलो क्षेत्रफल आफ्नो कब्जामा लिएको खबरमा उल्लेख छ । यसका साथै पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा पनि सङ्घर्ष चलिरहेको छ ।
जारञ्ज एउटा ठूलो व्यापारिक केन्द्र हो । आसपासको जिल्ला कब्जा गरेसँगै तालिबानले यो क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको थियो । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।
कट्टरपन्थी इस्लामिक समूह तालिबानले इरान र पाकिस्तानसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रलगायत अफगानिस्तानको आधा भूभाग कब्जा गरिसकेको बताइएको छ । अफगानिस्तानबाट अहिलेसम्म हजारौं मानिस विस्थापित भइसकेका छन् ।