
१९ साउन, धनुषा । धनुषाको एक सामुदायिक विद्यालयमा दुई वटा ल्यापटपसहित ३२ वटा कम्प्युटर तथा प्रोजेक्टर चोरी भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं २ भूचक्रपुर स्थित श्री जनप्रीय माध्यमिक विद्यालयको ल्याबको ढोका तोडेर गए राति ३२ वटा कम्प्युटर चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विद्यालयमा विभिन्न दातृ सङ्घसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि प्रदान गरेको दुई वटा ल्यापटप सहित ३२ वटा कम्प्युटर, एक वटा प्रिन्टर र एक वटा प्रोजेक्टर कम्प्युटर ल्याबबाट चोरी गरेको विषयमा प्रहरीले अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
आफन्त नेपालले दुई वर्ष अघि विद्यार्थीको अध्ययनको लागि पहिलो पटक १६ वटा कम्प्युटर प्रदान गरेको थियो । त्यसैगरी अन्य दुई वटा संघसंस्थले १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको विद्यालयले जनाएको छ । सो कम्प्युटरबाट कक्षा ६,७ र ८ का विद्यार्थीहरूले कम्प्युटर सिकाउने गरिएको थियो ।
विद्यालयलाई दान दिने काम भइरहेको बेलामा यत्रो सङ्ख्यामा कम्प्युटर चोरी हुने घटनालाई स्थानीयवासीले गम्भीर रुपमा लिँदै दोषी पत्ता लगाएर कडा भन्दा कडा कारबाही प्रक्रिया बढाई दिनका लागि माग गरेको छ ।