१७ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै लक्ष्मिनियाँ गाउँपालिका–२ सिनरजोडा का ४० वर्षीय पल्टु रविदास मृत भेटिएको घटनाले दिनहुँ प्रदर्शन भइरहेको छ ।
उनी गएको शुक्रवार विहानै ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरातकक्षमा रहेको शौचालयभित्र भेन्टिलेशनको तारजाली फिट गरिएको चेपमा रहेको रडमा आफ्नै गन्जीले पासोमा झुण्डिएको प्रहरीले दावी गरिरहेको छ ।
तर पल्टुका परिवारले भने उनको हत्या गरिएको आरोप लगाइरहेका छन् । घटनाको निष्पक्ष छानविन माग गर्दै दोषीलाई अबिलम्ब कडा कारबाही र क्षतिपुर्ती माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारबाही र क्षतिपुर्ती नदिए सशक्त आन्दोलनमा उत्रिने राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए । हिरासतभित्रै प्रहरीले कुनै हिसाबले उनको हत्या गरेको भन्दै सदाले धनुषाका एसपी प्रकाश रानाभाटलाई तत्काल निलम्बन गर्न माग समेत गरेका छन् ।
आफ्नै भाई अघुनु रविदासलाई कुटपिट गरि टाउको समेत भुटाइदिएको अभियोगमा ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा उनी प्रहरी हिरासतमा थिए ।
धनुषा जिल्ला अदालतले साउन ११ गते माग गरेको २ लाख रुपैँया धरौटी तिर्न नसक्दा उनलाई थुनामा राख्न करागार कार्यालय सिन्धुली पठाउने तयारी थियो ।
यद्दपी घटना भएको अघिल्लो दिन पल्टुकी श्रीमती रेणुले जिल्ला प्रहरी पुगेर आजै भोलिमा धरौटी बुझाएर उनलाई घर लाने योजना प्रहरीलाई सुनाएकी थिइन् ।
हत्या दावी गर्ने यस्तो छ सनसनीपुर्ण तथ्य
राष्ट्रिय मुसहर संघका अध्यक्ष दासका अनुसार पल्टुको हत्या भएको दावी गर्ने मुख्य तीनवटा आधार छन् । पहिलो झुण्डिएको शव हेर्दा पल्टुको पैताला पुरा जमिनमा टाँसिएको छ ।
दोस्रो उनले लगाएको गंजी एकदमै पुरानो छ त्यसले ५०र६० किलोको भारी थाम्नै सक्दैन, डोरी भाँचिहाल्छ र तेस्रो घटना भएको अघिल्लो दिन रेणु उनलाई भेट्न जाँदा प्रहरीले कुटपिट गर्दै यातना दिएको सुनाएको थियो ।
‘झुण्डिएर आत्महत्या गर्दा दिसा पिसाब भइहाल्ने, जिब्रो बाहिर निस्किने जस्तो अवस्था पनि देखिन्छ तर पल्टुलाई त्यस्तो केही देखिएन् । प्रहरीको कुट्ने बानी परेको हुन्छ । पिटन्े क्रममै पनि मरेको हुनसक्छ र बच्न शव झुण्डाइदिएको हुनसक्छ,’ सदाले थपे ।
तर आर्थिक बोझ हुने र थुनामा बस्नुपर्ने तनावले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको दावी छ ।
‘जसको खानपिनमै समस्या छ । घर परिवार चलाउन धौ धौ पर्छ । त्यस्तो व्यक्तिलाई अदालतले दुई लाख रुपैँया धरौटी तोक दिएपछि तनाव हुनु स्वभाविक हो । कसरी थेग्ने, काहाँबाट ल्याउने भन्ने तनाव भइहाल्छ नि । डिप्रेसड भएर आत्महत्याा गरेको हुन्सक्छ,’ प्रहरी प्रवक्ता डिएसपी मिश्रले भने ।
मुसहर संघका अध्यक्ष दासले भनेँझै शवको प्रकृति हेर्दा हत्या भएजस्तो देखिएको कुरा उनले अस्वीकार गरे ।
‘घुँडा टेकेरै मरेको घटना हामी आफैले अनुसन्धान गरेका हौँ । कुर्सीमा बसेरै झुण्डिएको घटना पनि हामीले देखेका छौँ । त्यो टेक्निकल कुरा हो,’ डिएसपी मिश्रले भने, ‘झुण्डिने बितिकै पैताला टेक्दा मर्दैन् । झुण्डिएपछि डोरीमा डिपेन्ड गर्छ, कस्तो खालको डोरी हो । बडीको वेट अनुसारले डोरी तन्किदै जान्छ । त्यसले पनि पछि हामीले हेर्दा पैताला टेकेको देखिन्छ । थप कुरा डाक्टरले भन्ने हो ।’
घटना छानविनका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी मसाद आलम खानको नेतृत्वमा ५ सदस्ययी विशेष छानविन समिती गठन गरिएको छ ।