१२ साउन, वीरगञ्ज । आमसञ्चार प्राधिकरण, प्रदेश २ ले रिक्त दरवन्दी पूर्ति गरिदिन आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको ध्यानाकर्षण गराएको छ।
मंगलबार प्राधिकरणको अनुगमनमा पुगेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहलाई कर्मचारी अभावमा कार्यालय बन्द जस्तै रहेकोले रिक्त दरवन्दी पूर्ति गरिदिन प्राधिकरणले ध्यानाकर्षण पत्र बुझाएको हो।
गत बैशाख १५ गते स्थापना भएको प्रदेश २ आमसञ्चार प्राधिकरणमा प्रशासकीय प्रमुख, इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियररआइटी अफिसर, नायब सुब्बा, लेखापाल, हलुका सवारी चालक र कार्यालय सहयोगीको दरबन्दी रहेको छ।
तर, आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोकसञ्चाल प्राधिकरण हेर्ने गरि पठाइएका कार्यालय प्रमुख, नायब सुब्बा र लेखापाल चलचित्र बोर्डमै कन्द्रित हुँदा समस्या भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर साहले बताए।
कर्मचारी अभाव तथा प्राधिकारणको खाता सञ्चालन नहुँदा महत्वपूर्ण कार्य हुन नसकेको भन्दै कम्युटर अपरेटर, सहायक कम्युटर अपरेटर र खरिदारको तत्काल व्यवस्था गरिदिन हुन आग्रह गरिएको छ । अनुमगनपछि बोल्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले छिट्टै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए।
उनले पित पत्रकारिता गर्नेलाई कारवाही गर्ने र पत्रकारको प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याउने आश्वासन दिए।