९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलापछि प्रतिक्रियावादीहरु विक्षिप्त बनेका बताएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको बर्बराहट त्यसैको परिणाम भएको बताएका छन् ।
उनले ओलीको बर्बराहट अब धेरै दिन नटिक्ने बताए । उनले भने, ‘सर्वोच्चले निरंकुशतावादीलाई चलखेल गर्ने ठाउँ नदिएर सुन्दर फैसला गर्यो । ओली नराम्रो सँग पछारिए । उनी अहिले विक्षिप्त छन् । कहिले बालकोटको बार्दलीबाट बर्बराउँछन् त कहिले च्यासल गएर बर्बराउँछन् । अब त्यो पनि धेरै दिन टिक्नेवाला छैन ।’
उनले पार्टी नेता कार्यकर्तालाई निष्ठाको राजनीति गर्न पनि आग्रह गरेका छन् । उनले मन्त्री बन्न पाए नेतृत्व ठिक र नपाए नेतृत्व गलत भन्ने मानसिकताबाट मुक्त हुन आग्रह गरे । अहिले आफूकहाँ मन्त्री बनाइदिन हुलका हुन नेता आउने गरेका बताए ।
उनले भने, ‘अहिले म कहाँ मन्त्री बन्न आउनेको हुल छ । आतंक छ । ४९ जना हाम्रा सबैलाई मन्त्री चाहिएको छ । मन्त्री पाए राम्रो भन्ने तर नपाए सराप्ने नेतृत्व बदमास भन्ने चलन छ । चार पाँच दिनदेखि म मानसिक तनावमा छु । मन्त्री पाए सात जना हो हाम्रो कोटमाा । यसबाट हामी कुरा गर्दा आदर्शका तर यस्तो निष्ठा भन्ने र भित्र चाहिँ मन्त्री पाइन्छ कि पाइन्न भन्ने संस्कार छ । यसलाई बदल्ने संकल्प गर्नुपर्छ । नरबहादुर कमरेड जस्तो हुनुपर्यो ।’
अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन टुटाउन प्रतिक्रियावादीहरु सक्रिय रहेका भन्दै सचेत हुनुपर्ने बताए । उनले अब पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘जसलाई घेरा हालेर सिध्याउन खोजेका थिए अहिले उनीहरु आफैं पाहा पछारिए जसरी पछारिएका छन् । प्रतिगमन पूरै परास्त भइसक्यो भन्ने अवस्था छैन । गठबन्धन टुटाउन धेरै कसरत भएको त्यो कसरत हुँदा केही साथीहरु ढल्दिनुभयो । गठबन्धनमा राम्रो काम गरेका साथीहरु पनि ढले । गठबन्धन टुटाउन नसकेपछि गठबन्धनलाई बहुमत पुर्याउन नदिन ठूलै कसरत भयो । तर हामी पनि बहुमत पुर्याउन त्यसैगरी लाग्यौं र यो सरकारलाई झण्डै दुई तिहाइको नजिक पुर्यायौं । यसबाट प्रतिक्रियावादीहरु झस्केका छन् । तर प्रतिक्रियावादीहरु अझैपनि गठबन्धन टुटाउन लागिपरेका छन् । एकदम टर्च बालेर खोजी गरिरहेका छन् । कहाँनेर छ प्वाल भनेर । एमसीसी र आइपिएसलाई बोकेर झगडा पार्न सकिन्छ कि भनेर लागिपरेका छन् । शान्ति सम्झौताका कामबाट छिर्न सकिन्छ किन भनेर लागिपरेका छन् ।’
उनले आफूहरुको अगाडि अवसर प्राप्त भएपनि चुनौति रहेको बताए । उनले भने, ‘हामी चुनौतिरहित छैनौं । बुद्धिमतापूर्वक चुनौतिको सामना गर्नुपर्छ । सरकारका तर्फबाट जनता र राष्ट्रका पक्षमा सकारात्मक काम हुनु अनिवार्य छ । कसैलाई छुट छैन गल्ती गर्न । कोभिडबाट जनताको जीवन रक्षा गर्नुपर्छ । सरकार खोप खोप खोप भनेर आएको छ । राम्रो छ त्यो कदम । ओलीका सेटिङ भत्काएर सही सेटिङ गर्नुपर्ने छ ।’