
३० असार । धुमपानको लत लागि सकेपछि छोड्न त्यत्ति सजिलो हुँदैन। युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिस पनि पर्ने गरेका छन् ।
निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ। जसले आफ्नो मन इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन, त्यसले चाहेर पनि धुमपान तथा सूर्तिजन्य पदार्थहरूको सेवन त्याग्न सक्दैन।
धुमपान छुटाउने कुनै अचुक औषधी छैन तर छोड्न सकिन्छ। धेरैले छोडेका पनि छन्। धुमपान गर्न धेरै जसलाई सोध्दा उनीहरूलाई यसबाट हुने हानीबारे एउटै गुनासो के छ भने धुमपान छोड्नलाई पर्याप्त तरीकाहरू तथा सुचना र जानकारी मुलक सामाग्रीहरू भेटिदैनन्।
धुमपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु पर्दछ। धुमपान किन, कहिले र केका लागि छोड्ने र कसको सहयोग लिने भनेर स्पष्ट हुनुपर्दछ। धुम्रपान पूर्ण रूपले छोड्नलाई कसैको सहयोग आवश्यक पर्दछ भन्ने बिर्सनु हुँदैन।
धुमपान एकैपकट चट्टै छोड्न पनि सकिन्छ र संख्या कम गर्दै वा धुमपान गर्न ढिलाई गरेर छोड्न सकिन्छ। तर छोड्न चाहनेले एकै पटक चट्टै छोड्न सक्दा उपयुक्त हुन्छ किनभने संख्या कम गर्ने उपाय त्यति सफल नहुन सक्छ भने धुम्रपान गर्न ढिलाई गर्दा पनि लामो समय सम्म तलतल लाग सक्छ।
योजनावद्ध ढंगले धुमपान छोड्दा अवश्य सफल भइन्छ, यसका लागि यी बुँदाहरू हेरौँ
१। सर्वप्रथम, धुमपानसँग सम्बन्धित बानी व्यहोरा हटाउन आफ्नो दैनिक जीवनशैली नै परिवर्तन गर्नुपर्ने हुन्छ। जीवन शैली परिवर्तन बिहान देखि नै शुरू गर्नुपर्नेहुन्छ। जस्तै चिया समय घटाउनु पर्छ।
२। धुमपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ। जस्तै बैशाख १ गते देखि‘।
३। धुमपान छोड्नु भन्दा अगाडी यसले हुने हानीबारे स्पष्ट हुनुपर्छ र यसले फाइदा गदैगर्दैन केवल हानीमात्र गर्छ भनी मनमा लिनुपर्छ। आखिर वास्तविक कुरो पनि यहि नै हो।
४। धुमपान छोड्न चाहनेले आफु बस्ने कोठाहरूमा पनि यसले गर्दा हुने हानीहरूको तस्वीर वा चित्र टाँस्ने गर्नुपर्दछ। ताकि धुमपान गर्नेतिर ध्यान केन्द्रीत नहोस्।
५। धुमपान गर्न मन लाग्ने चाहना रहित वातावरणको सृजना गर्ने। जस्तै धुम्रपान सम्बन्धी सामाग्रीहरू चुरोट, सलाई, एष्ट्रे आफुसँग नराख्ने।
धुमपान गर्न मन लागेको बेला धुम्रपानको अलावा अन्य केही उपाय रोज्न सकिन्छ । जस्तै
१।चुइगम वा ल्वाग चपाउने।
२। बिस्तारै लामो लामो श्वास लिने र फाल्ने।
३। प्रशस्त पानी पिउने।
४।अमला चुस्ने
५।दालचिनी चपाउने
६। मह चाट्नुहोस्
अन्य रचनात्मक काममा व्यस्त रहने आदि।
यी सबै उपायहरू अवलम्बन गरि दहो आत्मबलका साथ धुमपान त्याग्ने अठोट गरेमा अवश्य पनि सफल भइन्छ। यसरी प्रयास गर्दागर्दै पनि पुनः शुरू गर्न सक्ने सम्भावना करिब एक महिना सम्म अधिक रहन्छ। त्यसैले यस्तो वातावरण सृजना हुन नदिन सचेत रहनु पर्दछ।
धुमपानको तलतल धुम्रपान छोडेका दुई—तीन दिन सम्म अत्याधिक रहन्छ र त्यसपछि यो क्रम कम हुँदै जान्छ र खानामा रूची बढ्न थाल्छ। धुमपान छोडेको दुई हप्ता भित्रै २ देखि ३ के।जी तौल बढ्न सक्छ।
त्यसैले नआत्तिनुहोस् तपाई पनि यस किसिमको आत्मबलको विकास गर्नुहोस र धुमपान त्याग्नुहोस्। पहिला जीवन रोज्नुहोस, धुम्रपान होइन।