यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि भएको भिडन्तमा घाइते भएकी नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। घाँटीमा गम्भीर चोट लागेकी उनको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईले जानकारी दिए।
गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् ।
घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए ।
आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् ।
कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।









