१५ फागुन । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु रेडपान्डाका छालासहित रोल्पाका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ७ बस्ने ३२ वर्षीय राम बहादुर थापा, लुङ्ग्री गाउँपालिका ३ बस्ने २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका ७ बस्ने १९ वर्षीय राम कुमार पुनमगर रहेका जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ ।
शुक्रबार बिहान करिब ७ बजेतिर बन्यजन्तु आखेटोपहार रेडपान्डाका छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ हुँदै काठमान्डौ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङ दाङको संयुक्त प्रहरी टोलीले ५ थान छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए ।
उनका अनुसार राप्ती गाउँपालिका १ भालुबाङमा भालुबाङ– प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको रेडपान्डाको छाला बरामद भएको हो । पक्राउ परेकाहरूले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप सङ्कटमा पर्ने अवस्थामा पुगेको एसपी काफ्लेले बताए ।
उनका अनुसार बजारमा रेडपान्डाका छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारवाहीका लागि बुझाउने प्रहरीले जनाएको छ ।









