४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार संसद्मा एमसिसी टेबुल हुने बताएका छन् ।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धनकै दलहरूबीच एमसिसीबारे सल्लाह र सहमति आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको बताए ।
त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए । ‘सहमतिकै लागि आज पेस हुने एमसिसी रोकेका हौँ । दुई दिनभित्र हामी सहमति गरेरै पेस गर्छौं,’ उनले भने ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा एमसिसी टेबुल नगर्ने सहमति बनेको थियो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।










