१ फागुन । आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० वर्षअघिदेखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो। समाज विकास, परिवर्तन र रूपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ। विशेषगरी विपद्का बेलामा रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ। तर, सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ। तर, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो। नेपालमा २०५२ सालदेखि एफएम प्रसारण शुरु भएको थियो।










