१३ माघ,पर्सा । विवाह गर्ने प्रलोभन देखाएर एक बालिकालाई भारततर्फ लैजान खाजेको आरोपमा एक पक्राउ परेका छन् ।
पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं।१६ स्थित शंकराचार्य गेट हुँदै बालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले एक व्यक्ति पक्राउ गरेको हो ।
पर्सा प्रहरीकाअनुसार पक्राउ पर्नेमा अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका वडा नं। ७ का राजु अधिकारी रहेका छन् । हाल चितवनस्थित भरतपुर उपमहानगरपालिका वडा नं। १ पोखरा बसपार्क बस्दै आएका उनले १४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाउँदै भारततर्फ लैजादै गरेका थिए ।
प्रहरीकाअनुसार उनलाई माइती नेपालको सहयोगमा पक्राउ गरिएको हो । बालिका गएको बिहीबारदेखि हराएकी थिइन् । प्रहरीले उनको खोजी गरिरहेको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार अधिकारीले पीडित बालिकासँग लगभग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरेका थिए । ‘भेट्न बोलाई अर्घाखाँची लगेर विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई बीरगञ्ज बसपार्कसम्म ल्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले भने, ‘अब ५ मिनेटमा घर पुगिन्छ भनी ईनर्वा नाका हुँदै भारत लगि बेचबिखन गर्ने उद्देश्य देखिन्छ ।
उनलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









