११ माघ । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गर्ने एक प्रतिवादीलाई १८ वर्ष कैद सजाय सुनाएको छ ।
सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेका जिल्ला अदालतले जनाएको छ ।
प्रतिवादी पौडेलले गत २०७७ मंसिर १६ गते स्थानीय १० वर्ष ७ महिनाकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसूर गरेको ठहर गर्दै मंगलवार १८ वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिवादी पौडेलले बुवाआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबरजस्ती करणी गरेको फैसलामा उल्लेख छ । गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए ।
अदालतले पीडित बालिकालाई १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ । प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए ।









