नवीन चौधरी
२ जेठ, महोत्तरी। भन्सार कार्यालयले केही दिनअघि मुद्दा नचलाइ फिर्ता गरेको पिकअप गाडी फेरि चाइनिज स्याउ तस्करीमा प्रयोग भएको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। घटनापछि भन्सार कर्मचारी, तस्कर र बिचौलियाबीच मिलेमतोको आशंका थप बलियो बनेको छ।
मलिवाडा भिठामोड भन्सार कार्यालयले प्र–१–०४–००१ च ०४१४ नम्बरको उक्त पिकअपलाई केही दिनअघि सशस्त्र प्रहरीको नियन्त्रणपछि पनि मुद्दा नचलाइ फिर्ता गरेको थियो। तर सोही गाडी भारततर्फ स्याउ तस्करी गर्दै गर्दा सिरसिया डिमाही, पिलर नम्बर ३१० नजिक एसएसबीको ५१औँ बटालियनले नियन्त्रणमा लिएको हो।
यसअघि सशस्त्र प्रहरीले इटहर्बाकट्टी नाकाबाट तीन वटा पिकअप नियन्त्रणमा लिँदा करिब ६ हजार किलो चाइनिज स्याउ बरामद गरेको थियो, जसको मूल्य करिब ४१ लाख ७० हजार रुपैयाँ रहेको थियो। प्रारम्भिक अनुसन्धानमा सामान अवैध रूपमा भारततर्फ लैजान खोजिएको देखिए पनि चालकहरू फरार भएका थिए।
उक्त घटनामा भन्सार कार्यालयले केही घण्टामै लिलामी सूचना निकालेर पछि मुद्दा नचलाउने निर्णय गर्दै गाडी र सामान फिर्ता गरेको थियो। तर सोही गाडी पुनः तस्करीमा संलग्न भेटिएपछि स्थानीयवासीले भन्सार, तस्कर र बिचौलियाबीचको सेटिङ भएको आशंका गरेका छन्।
स्थानीय नागरिक तथा राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेका छन्।









