२८ बैशाख, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित श्री देउराली माध्यमिक विद्यालय अन्तर्गत सञ्चालन भइरहेको प्राविधिक शिक्षालयको छात्रावास उद्घाटन गरिएको छ। बर्दिबास नगरपालिकाद्वारा सञ्चालित उक्त छात्रावासको उद्घाटन नगर प्रमुख प्रहलाद कुमार क्षेत्री ले एक विशेष कार्यक्रमबीच गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिबास नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नमुना विद्यार्थी उत्पादनसँगै नमुना विद्यालय निर्माण अभियानलाई अगाडि बढाइरहेको बताए। उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई आवश्यक भौतिक पूर्वाधार र आवासीय सुविधा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।
नगर प्रमुख क्षेत्रीले नगरभित्र कुनै पनि विद्यार्थी आर्थिक, सामाजिक वा अन्य कारणले शिक्षाबाट वञ्चित हुन नहुने स्पष्ट पार्दै, “यदि कुनै विद्यार्थी पढाइबाट टाढा रहेको छ भने हामीलाई जानकारी गराउनुस्, त्यस्ता विद्यार्थीलाई नगरपालिकाले आवश्यक सहयोग गरेर पढाउने जिम्मेवारी लिन्छ,” भने।
उनले विद्यालयको शैक्षिक प्रगति, अनुशासन र व्यवस्थापनको प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु दोङ प्रति धन्यवाद व्यक्त गरे। “विद्यालयलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन यसरी नै लागिरहनुहोस्, नगरपालिका सधैं तपाईंहरूको साथमा छ,” भन्दै उनले आगामी दिनमा पनि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा पूर्व शिक्षा शाखा अधिकृत गणेश दाहाल लगायत शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनका अनुसार प्राविधिक शिक्षातर्फ अध्ययन गर्न टाढादेखि आउने विद्यार्थीलाई लक्षित गर्दै छात्रावास सञ्चालनमा ल्याइएको हो। छात्रावास सञ्चालनपछि विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा अध्ययनमैत्री वातावरण उपलब्ध हुने विश्वास गरिएको विद्यालयले जनाएको छ।









