‘नउठे तिमी, उठ्दैन देश’ सार्वजनिक : देशप्रेम र जागरणको सशक्त सन्देश


जीवनराज दाहाल : महोत्तरी, बैशाख २६ ।
देशभक्तिको भावना बोकेको नयाँ गीत ‘नउठे तिमी, उठ्दैन देश’ बैशाख २५ गते सार्वजनिक गरिएको छ । गायक अर्जुन बाबु लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गीतमा स्वर तथा सङ्गीत अर्जुन बाबु लामाकै रहेको छ भने शब्द आचार्य विष्णु देवले सिर्जना गरेका हुन् । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ बुद्ध स्याङ्बाले गरेका छन् भने सिनेम्याटोग्राफी गंगाराम राईले गरेका हुन् । गीत ‘ए लेबल’ स्टुडियोमा तयार पारिएको निर्माण टिमले जनाएको छ ।

शास्त्रीय सङ्गीतका विद्यार्थीसमेत रहेका गायक अर्जुन बाबु हाल सङ्गीत प्रशिक्षकका रूपमा सक्रिय छन् । देशप्रेम, जागरण र एकताको भाव समेटिएको गीतमा उनको सशक्त गायनले थप ऊर्जा भरेको अनुभूति हुन्छ ।

गीतकार आचार्य विष्णु देव एक कुशल पण्डितका रूपमा परिचित छन् । साहित्य क्षेत्रमा समेत सक्रिय उनी समाज, संस्कार र राष्ट्रप्रेमका विषयलाई शब्दमार्फत प्रभावकारी ढंगले प्रस्तुत गर्न सिपालु मानिन्छन् । उनका सिर्जनामा नेपाली मौलिकता र चेतनाको स्पष्ट झल्को पाइन्छ ।

गायक अर्जुन बाबु लामा र गीतकार आचार्य विष्णु देवको यो पहिलो सहकार्य भने होइन । यसअघि पनि उनीहरूले ‘जय जय राधे’ भजनमार्फत दर्शक–श्रोताको मन जितिसकेका छन् । नयाँ गीत ‘नउठे तिमी, उठ्दैन देश’ मार्फत देशप्रेम, सामाजिक चेतना र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

देश र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्ने भाव बोकेको उक्त गीतले विशेषगरी युवापुस्तालाई सकारात्मक ऊर्जा र जागरणको सन्देश दिने विश्वास गरिएको छ । सार्वजनिक भएसँगै गीतलाई सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको