सप्तरीमा चैते धान उत्पादन बढ्ने अनुमान


सप्तरी। सप्तरीमा यस वर्ष चैते धानको उत्पादन वृद्धि हुने देखिएको छ। गत वर्षको तुलनामा खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि बढोत्तरी हुने अनुमान गरिएको हो।

कृषि ज्ञान केन्द्र सप्तरी का अनुसार गत आर्थिक वर्षमा २ हजार ८०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भई १३ हजार ३५६ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष भने खेती विस्तार भई ३ हजार १०० हेक्टर पुगेकाले करिब १४ हजार ७८७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।

ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउत का अनुसार किसानहरू अझै पनि रोपाइँमा व्यस्त रहेकाले उत्पादनको तथ्याङ्क थप बढ्न सक्ने सम्भावना रहेको छ।

उनका अनुसार सप्तरीको हावापानी चैते धानका लागि उपयुक्त हुनुका साथै स्थानीय तहले कृषि विद्युतीकरणमा जोड दिएकाले किसानको आकर्षण बढेको हो। “पालिकाहरूले खेतमै बिजुली पुर्‍याएका छन्, सिँचाइ सहज भएकाले उत्पादनमा सुधार हुने देखिएको छ,” राउतले बताए।

जिल्लाका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र रुपनी गाउँपालिका मा चैते धानको खेती बढी हुने गरेको छ।

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका, बोदे बरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका मा पनि उत्पादन राम्रो हुने गरेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको