महोत्तरी। जनमत पार्टी महोत्तरीको जिल्ला तदर्थ समिति चयनका लागि बसेको बैठकले वीरेन्द्र कुमार महतोको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
पार्टीका जिल्ला इन्चार्ज वीरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा महासचिव एवं पर्यवेक्षक चन्दन कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले जिल्लाको सांगठनिक संरचना सुदृढ बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
बैठकले उपाध्यक्षमा लालबाबु राय, सचिवमा सरोज कुमार महतो, सह-सचिवमा किशोरी ठाकुर र कोषाध्यक्षमा नबिन ठाकुरलाई जिम्मेवारी दिएको छ।
जिल्ला समन्वय समिति गठन प्रक्रियामा प्रारम्भमा ११ जनाले उम्मेदवारी दिएका थिए। तर आपसी सहमति र छलफलपछि अधिकांशले उम्मेदवारी फिर्ता लिँदा अन्तिममा ४ जना मात्र प्रतिस्पर्धामा रहेका थिए। पर्यवेक्षक, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा भएको विस्तृत छलफलपछि सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको जनाइएको छ।
बैठकले उम्मेदवारहरूको प्रतिबद्धता, संगठन विस्तार तथा जिल्लास्तरीय समन्वय मजबुत बनाउने विषयमा विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










