वीरगन्ज। गण्डक नहर नजिक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार राति सखुवा प्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहर छेउमा जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
हरिबहादुर बस्नेतका अनुसार बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको कार राति करिब ९:१५ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा चालकको राति करिब १०:१५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक चालकको नाम र ठेगाना भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ।









