काठमाडौँ, पुस १७ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ला जिल्लाको सर्वाङ्गीण विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र)का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले सरकारले जिल्लाको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
स्थानीयवासीको माग अनुसार सिन्जा क्षेत्रमा मालपोट र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने आश्वासन पनि दिएको बैठकमा सहभागी लेखक तथा पत्रकार मनऋषि धितालले जानकारी दिए । सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले तीन महिने अभियानको बारेमा जानकारी गराएका थिए । गाउँगाउँमा संगठन विस्तार भएको र सरकारका कामलाई जनस्तरमा पु¥याएको सङ्केत गर्दै अभियान सार्थक भएको पार्टी अध्यक्षलाई पनि जानकारी गराइएको उनले बताउनुभयो ।
त्यसैगरी आगामी राष्ट्रियसभा निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्न पनि आग्रह गरिएको छ । सो अवसरमा प्रतिनिधिसभाका सदस्य चिरिङ्गलहामु लामा लगायतको उपस्थिति रहेको थियो ।
श्रोत रासस











