काठमाडौँ, पुस १७ गते ।
वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस)का पूर्व कार्यवाहक महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दिवंगत पत्रकार पोखरेलको शवलाई उहाँका छोरा अनुप पोखरेलले पार्थिव शरीरमा दाग बत्ती दिनुभएको थियो । मृतक पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
पोखरेलको ८७ वर्षको उमेरमा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो । राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)का संस्थापक महासचिव र दुई कार्यकालका अध्यक्ष पोखरेल गोरखापत्र दैनिकका पूर्व सम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक सम्पादक पनि थिए ।
गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका पोखरेल पछिल्लो समय फोक्सोको समस्याबाट पीडित हुनुहुन्थ्यो । पत्रकारितामा स्नातकोत्तर गरेका र अङ्ग्रेजी साहित्यमा समेत संलग्न रहेका पोखरेलले अस्पतालको शैयाबाट काठमाडौं उपत्यकामा बढ्दो वातावरणीय प्रदुषणप्रति चिन्ता व्यक्त गर्दै जनचेतना अभिवृद्धिमा जोड दिनुभएको थियो । विसं १९९३ मा धनकुटाको कोचिन्देमा जन्मेका पोखरेल काठमाडौंमा बस्दै आउनुभएको थियो ।
श्रोत रासस











