हेटौँडा, पुस १२ गते ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयताले जनतामा ‘अधिकार माग्ने चेतना’ दिएको बताउनुभएको छ । आज हेटौंडामा आयोजित ‘मानव अधिकारको विकास’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताउनुभएको हो ।
संघीयता कार्यान्वयनको शुरुवात राम्रो भएको बताउँदै उहाँले संविधानले दिएका अधिकार आउन बाँकी रहेकाले निराश हुनुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयताले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको चेतना दिएको छ । उहाँले संघीयतासँगै जनतामा अधिकार र विकासको चेतना जागृत भएको बताउनुभयो । उहाँले प्रदेशका मुख्य न्यायधिवक्ता, सचिव र स्थानीय महासंघको सहभागितामा तह र परिस्थितिअनुसार अधिकारको नमुना निर्माण र कार्यान्वयनका लागि छलफल कार्यक्रम भएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहको सरकारलाई जनताले बुझ्न नसकेकाले अधिकार बाँडफाँडसँगै शाब्दिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि प्रदेश र स्थानीय तह एकजुट भएपछि विकास र उत्साहका जरा फुट्ने बताउनुभयो । साथै उहालेले सरकारले सिकाइमा छुट नदिने भएकाले समन्वयको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सरकारले पाएको अधिकार कार्यान्वयन गरे संघीयताको मूल मर्म जोगिने बताउनुभयो । उहाले संघीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन भएपछि समृद्ध राज्य निर्माण हुने बताउनुभयो । उहाँले तीन तहका सरकार एकअर्कासँग गुनासो गर्दा राज्यमा असर पर्ने भएकाले तत्काल समन्वय गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ढुंगानाले अबको तीन दिनसम्मको छलफलले विभिन्न तहमा अधिकार विस्तारको विषय टुंगो लाग्ने भएकाले यसलाई महत्वका साथ हेरिएको बताउनुभयो ।
श्रोत रासस











