चितवन, पुस ११ गते ।
नारायणी नदीमा गोही अनुगमनका क्रममा डल्फिन फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीको अनुगमनपछि पाँचौँ दिन नारायणी नदीको अनुगमनका क्रममा डल्फिन भेटेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मंगलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी खोलाको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गत वर्ष पनि गोलाघाटमा डल्फिन देखिएका थिए । गोलाघाटबाट दुई घण्टाको र्याफ्टिङपछि देखिएको डल्फिन नयाँ हो कि गत वर्ष फरक ठाउँमा देखेको डल्फिन आफूलाई थाहा नभएको उहाँले बताउनुभयो ।
यससँगै अति दुर्लभ मानिने पाँचवटा भाले गोही भेटिएका छन् । नदीमा भाले गोही नहुँदा २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो । राप्ती नदीमा तीनवटा भाले गोही र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनमा राप्ती नदीको अनुगमन सम्पन्न गरी नारायणी नदीमा अनुगमनको काम भइरहेको छ । नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टदेखि नारायणगढतर्फको अनुगमन भइरहेको छ । बिहीबार नारायणी नदीको अनुगमन गरेपछि शुक्रबारदेखि बुढीराप्ती अनुगमन गर्ने कार्यक्रम छ ।
अधिकारी श्रेष्ठका अनुसार नारायणी नदीको भेलाउजी क्षेत्रमा पनि भाले गोही रहेको अनुमान गरिएको छ । राप्ती नदीमा १ सय ४८ गोही देखिएका छन् । नारायणी नदीमा दुई दिनमा एक सय गोही देखिएका उनले जानकारी दिनुभयो । नारायणी नदीमा अबको दुई दिन र बुढीराप्तीमा एक दिन अनुगमन भइरहेको छ ।
प्रत्येक वर्ष यस समयमा नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ । निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रको अनुगमन गर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वमा रहेको टोलीले एक सातासम्म अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा देखिएका कमजोरीहरूलाई सच्याएर संरक्षणमा लिइन्छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी चैत र वैशाखमा खोला किनारबाट गोहीका अण्डा सङ्कलन गरी कसरास्थित प्रजनन केन्द्रमा पाल्ने गरिन्छ । बालबालिकालाई त्यहीँ हुर्काएर खोलामा छाडिन्छ । लोपोन्मुख घडियाल गोहीको संरक्षणका लागि प्रजनन केन्द्र स्थापना गरिएको छ ।
श्रोत रासस











