स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन बर्दिवास अस्पतालमा सेवा विस्तार हुने भएको छ । १५ शय्याका लागि स्वीकृत यस अस्ताललाई ५० शय्यामा सञ्चालन गर्न जनशक्ति तथा उपकरण व्यवस्थापनको प्रक्रिया तीव्र बनाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रसुति रोग विशेषज्ञ कृष्णा महर्जनले बताइन् ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिवास स्वास्थ्य उपचार सेवाको केन्द्र बनिरहँदा करिब एक दशकअघि बनेको सुविधासम्पन्न भौतिक पूर्वाधार भएको बर्दिवास अस्पतालमा भने आकस्मिक, बहिरंग, ल्याब, एक्सरे, प्रसुति, परिवारनियोजन, सुरक्षित गर्भपतन, खोप तथा पोषण, स्वास्थ्य बिमालगायतका सेवा उपलब्ध छन् । तर यीमध्ये कतिपय सेवा पूर्ण क्षमतामा सञ्चालित छैनन् । मेडिकल सुपरिटेन्डेन्ट डा.महर्जनका अनुसार बर्दिवास नगरपालिका मातहतको यस अस्पतालमा सबैखाले विशेषज्ञ सेवासहित उपचार कार्य आरम्भ गर्न गृहकार्य भइरहेको छ ।
अस्तालमा अहिले तीन विशेषज्ञ, छ मेडिकल अधिकृत, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५६ जना कार्यरत छन् । अहिले विस्तार गर्ने भनिएको सेवा सचालनका लागि थप ३३ जना जनशक्ति नगरपालिका कार्यालयसँग माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले बताए । दशक पुरानो अस्पतालमा उपयोगविहीन हुँदा जीर्ण भएका उपकरण नगरपालिकामा नयाँ नेतृत्व आएपछि प्रयोगमा ल्याइएका छन् ।
अस्पतालमा अन्तरंग विभाग र यस अन्तर्गत जेनरल मेडिसिन, सर्जरी, हाडजोर्नी, स्त्री तथा प्रसुति, बालरोग र ज्येष्ठ नागरिक वार्ड, शल्यक्रिया कक्ष, डेन्टल सेवा, सामाजिक सुरक्षा एकाइ, ज्येष्ठ नागरिकहरूका लागि ओपिडी, नवजात शिशु हेरचाह तथा उपचार कक्ष, एकद्वार संकट व्यवस्थापन केन्द्र, चौबिसौं घन्टा सचालित रहने ल्याब, एक्सरे, फार्मेसी, अल्ट्रासाउन्ड स्थापना गरिने योजना छ । अस्पताललाई केन्द्र मानेर नगरपालिकाले स्वास्थ्यसम्बन्धी बजेट व्यवस्थापन गरिदिनुपर्ने आफूहरूको माग रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसैगरी बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री, महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललगायतले बर्दिवास अस्पतालको निरीक्षण गरेका छन् । नगरप्रमुख क्षेत्रीले अस्पतालमा सेवालाई विस्तारित तथा प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले बर्दिवास अस्पतालको स्वास्थ्य सेवा क्षमता तथा गुणस्तर वृद्धि गरेर सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न नगरपालिका कार्यालय गम्भीर रहेको औंल्याए ।
उनले आवश्यकताका आधारमा अस्पतालमा जनशक्ति र उपकरण थप गरिने पनि प्रस्ट्याए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दाहालले अस्पतालको सेवा विस्तारका लागि आफूले संघ तथा प्रदेश सरकारको सहयोग जुटाउन पहल गर्ने बताए ।
एक दशकयता सीमित सेवा प्रदान गर्दैआएको बर्दिवास अस्पतालमा सेवा विस्तार गराउन पछिल्लोपटक स्टाफ नर्स चण्डिका अधिकारीले पहल गरिरहेकी छिन् ।



















