सप्तरीमा पत्रकारमाथि दुर्व्यवहारको आरोप, प्रेस जनमत संघद्वारा कारबाहीको माग


राजविराज। प्रेस जनमत संघ सप्तरीका अध्यक्ष रुपेश यादवमाथि सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा भएको भनिएको दुर्व्यवहारप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ। संघका अनुसार रिपोर्टिङका क्रममा प्रहरीले भिडियो खिच्न नदिई डिलिट गर्न दबाब दिएको र सञ्चार सामग्री खोस्ने प्रयास गरिएको आरोप लगाइएको छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न भारतीय नम्बर प्लेटको सवारी नियन्त्रणमा लिइएको विषयमा समाचार संकलनका लागि पुगेका बेला अध्यक्ष यादवमाथि दुर्व्यवहार भएको हो। सो क्रममा डिएसपी डम्बर बहादुर पुरीको उपस्थितिमा सहायक प्रहरी निरीक्षक उदय सिंहले असभ्य व्यवहार गर्दै खिचिएको भिडियो डिलिट गर्न दबाब दिएको र सञ्चार सामग्री खोस्ने प्रयास गरेको आरोप संघले लगाएको छ।

विज्ञप्तिमा डिएसपी पुरीले नियन्त्रणमा लिने धम्कीसमेत दिएको उल्लेख गर्दै उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको जनाइएको छ। निर्वाचनको संवेदनशील समयमा रिपोर्टिङका लागि जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारलाई हप्काएर भिडियो मेटाउन लगाउने प्रयासले प्रहरीको प्रेस स्वतन्त्रताप्रतिको धारणा सकारात्मक नरहेको संकेत गरेको संघको भनाइ छ।

प्रेस जनमत संघले घटनामा संलग्न प्रहरीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान सुनिश्चित गर्न माग गरेको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको