काठमाडौं। सर्लाहीको मलंगवा नगरपालिका-१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका सब-इन्जिनियर प्रमोद यादवका आफन्तहरूले दोषी पक्राउ गरी कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
सिरहाको सुखीपुर नगरपालिका-६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि उनका आफन्तहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले “हत्यारालाई कारबाही गर”, “पीडित परिवारलाई न्याय दे”, “मौन सरकार लाज किन”, “न्यायबिना शान्ति हुँदैन” लगायत लेखिएका प्लेकार्ड बोकेका थिए।
मृतकका आफन्त दिलीप यादवले क्रियाबिदा सकेर कार्यालयको कामका लागि मलंगवास्थित डेरामा फर्किएपछि अज्ञात समूहले उनलाई निशाना बनाएको बताए। उनका अनुसार प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार गरिएको थियो।
भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब-इन्जिनियर यादवमाथि आइतबार राति गोली प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल मलंगवामा पुर्याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए।
घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









