जंगली जनावरबाट बाली नष्ट भएपछि बर्दिबासका किसान बेसार खेतीतर्फ आकर्षित


बर्दिबास। जंगली जनावरले फलफूल तथा अन्य बालीनाली नष्ट गर्न थालेपछि महोत्तरीको बर्दिबास क्षेत्रका किसानहरू व्यावसायिक बेसार खेतीतर्फ आकर्षित भएका छन्। किसान बहुमुखी सहकारी (साझा संस्था) बर्दिबासले नगर क्षेत्रमा बेसार खेती विस्तारका लागि अभियान सुरु गरेको हो।

सहकारी सञ्चालन समितिका सदस्य डाकराज पोखरेलका अनुसार बिजलपुरा, किसाननगर, हात्तीलेट र पशुपतिनगर क्षेत्रलाई लक्षित गरी बेसार खेती विस्तार अभियान अघि बढाइएको छ। सहकारीका अध्यक्ष भानुभक्त पोखरेलले पहिलो चरणमा २५ बिघा क्षेत्रफलमा बेसार खेती गर्ने योजना रहेको बताए।

उनका अनुसार किसानलाई प्रोत्साहनस्वरूप प्रतिकट्ठा दुई हजार रुपैयाँका दरले एक वर्षका लागि निब्र्याजी कर्जा उपलब्ध गराइनेछ। “पाँच कट्ठासम्म बेसार लगाउने खर्च सहकारीले निब्र्याजी कर्जाबाट सहयोग गर्छ। किसानले जति उत्पादन गरे पनि सहकारीले खरिद गरेर प्रशोधन र बजारीकरण गर्नेछ,” उनले भने। यसका लागि किसान सहकारीको सेयर सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ।

सहकारीले बेसार खेतीमा करिब १२ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ भने बर्दिबास नगरपालिकाले १५ लाख रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउने तयारी गरेको बताइएको छ। खेती व्यवस्थापनका लागि समूह गठनसमेत गरिएको छ।

वडा नम्बर १२ बिजलपुराका लागि विश्वनाथ महतोको अध्यक्षतामा ‘बिजलपुरा किसान समूह’ र वडा नम्बर १३ का लागि मनीष समालको अध्यक्षतामा ‘महारानी कृषि समूह’ गठन गरिएको छ। दुवै समूह पाँच-पाँच सदस्यीय रहेका छन्।

जंगली जनावर नीलगाई, बँदेल र बाँदरले बाली सखाप पार्ने समस्या बढेपछि त्यसको विकल्पका रूपमा बेसार खेती विस्तार गर्न लागिएको अध्यक्ष पोखरेलले बताए। आगामी दिनमा बेसार खेतीमा थप अनुदान उपलब्ध गराउन पहल भइरहेको उनले जानकारी दिए।

किसान जगजीवन महतोका अनुसार खेती राम्रो भए एक कट्ठामा करिब ८ क्विन्टलसम्म बेसार उत्पादन हुन्छ। एक कट्ठा बेसार खेती गर्न करिब ८ हजार रुपैयाँ लागत लाग्ने र २१ हजार रुपैयाँसम्म आम्दानी हुने अनुमान सहकारीले गरेको छ।

सहकारी विज्ञ सुदर्शन ढकालले कृषि सहकारीमार्फत सबै किसानलाई स्थानीय सरकारसँग जोड्ने नीति आवश्यक रहेको बताए। किसान विश्वनाथ सिंहले बेसार औषधीय गुणयुक्त तथा लाभदायक बाली भएकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको बताए।

अर्का किसान रामप्रमोद महतोले बेसार खेतीका लागि प्राविधिक सहयोग, मलखाद तथा यान्त्रिक उपकरण उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन्। पूर्व वडा सदस्य रामपूजन महतोले स्थानीय सहकारीसँग सहकार्य बढाउनुपर्ने बताए भने किसान दीपेन्द्र महतोले बेसार खेती विस्तारले जंगली जनावरको आतंकबाट राहत मिल्ने विश्वास व्यक्त गरे।

बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले कृषि सहकारी किसानको समृद्धिको आधार भएको उल्लेख गर्दै सहकारीमार्फत दूध तथा बेसार खेतीलाई व्यवस्थित बनाउने योजना रहेको बताए। वडा नम्बर १३ का वडाध्यक्ष लक्ष्मण सिंहले आगामी बजेटमा किसानका माग सम्बोधन हुने गरी नीति, कार्यक्रम र बजेट विनियोजन गरिने बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको