महोत्तरी। बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७८औँ नियमित शृङ्खला शनिबार सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिष्ठानका सचिव पवन कुमार वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा साहित्यिक व्यक्तित्वहरूलाई प्रतिष्ठानका सदस्य प्रविण पौडेलले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य विमला विश्वकर्मा, सोही संस्थाका मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, सचिव भिमकुमार राउत, बुढ्यौली साहित्य समाज मधेश प्रदेश सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल, बुढ्यौली साहित्य समाज धनुषा अध्यक्ष नानीराम दहाल, प्रतिष्ठानका वरिष्ठ सदस्य जीवनस्पर्शी, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव सुदर्शन प्रसाद भट्टराई तथा सेन्टर प्वाइन्ट आवासीय विद्यालयका शिक्षक रुद्र पोखरेल रहेका थिए।
कार्यक्रममा सेन्टर प्वाइन्ट एकेडेमीका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा विभिन्न लयका गीत, कविता, गजल तथा मुक्तक वाचनसमेत गरिएको थियो।
वाचन गर्नेहरूमा प्रविण पौडेल ,प्रतिक मण्डल , राज महतो , प्रसंशा वाग्ले , रुद्र पोखरेल , पवन वाग्ले , नानीराम दहाल , सुदर्शन भट्टराई , भिम राउत, विमला वि क , विपुल विद्रोही, जीवनस्पर्शी, नारायण घिमिरे , एलिना सिंह , यशोदा श्रेष्ठ , सिल्पी चौधरी लगायतले सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै अतिथि रामचन्द्र पौडेलले बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको मुख्य उद्देश्य भनेको विद्यालयहरूमा विद्यार्थीलाई साहित्यप्रति लाग्ने हौसला र प्रोत्साहन गर्दै साहित्यिक समूह निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक विद्यालयमा साहित्यिक फूलबारी बनाउने ध्येयका साथ आज यहाँ कार्यक्रम गरिएको हो भन्ने कुरा स्पष्ट पारेका थिए।
यसैगरी अतिथि नारायण घिमिरेले निरन्तर रूपमा कार्यक्रम सञ्चालन गर्दै साहित्यप्रतिको लगाव राख्ने यो प्रतिष्ठानको कार्य सराहनीय रहेको छ भन्ने कुरा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष यशोदा श्रेष्ठले यस प्रतिष्ठानको ७८ औँ शृङ्खलामा उपस्थिति भएर कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा उपस्थिति अतिथि तथा साहित्य अनुरागी व्यक्तित्वहरूमा हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन् साथै आगामी दिनमा पनि यस्तै साथसहयोग रहनेमा आफू विश्वस्त रहेको बताउँदै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम बर्दिबास नगरपालिका वडा नं १४ स्थित सेन्टर प्वाइन्ट आवासीय विद्यालयको सभाहलमा सम्पन्न भएको थियो।









