चन्द्रपुर-५ मा मतदाता भेटघाट तीव्र, घरदैलो अभियानमा जनसहभागिता


रौतहट। रौतहट निर्वाचन क्षेत्र नम्बर-४ अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. ५ मा मतदाता भेटघाट कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन नजिकिँदै जाँदा स्थानीय स्तरमा राजनीतिक चहलपहल बढेको छ भने वडा नं. ५ मा घरदैलो अभियान र प्रत्यक्ष संवादलाई विशेष प्राथमिकता दिइएको देखिएको छ।

कार्यक्रममा उम्मेदवार गणेश पौडेल तथा पार्टीका स्थानीय नेताहरू टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गरेका थिए। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारलगायत विषयमा मतदाताले खुलेर आफ्ना धारणा राखेका थिए। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ।

यसैक्रममा थलही, राजपैरा र चिडियादह क्षेत्रबाट २९८ जना विभिन्न दल परित्याग गरी Rastriya Swatantra Party (रास्वपा) मा प्रवेश गरेको बताइएको छ। पार्टी प्रवेश कार्यक्रमको सभापतित्व नगर सभापति अरुण लामाले गरेका थिए भने मतदाता भेटघाट कार्यक्रमको संयोजन चन्द्रपुर-५ का वडा सभापति विष्णुबहादुर थापाले गरेका थिए।

भेटघाटका क्रममा उम्मेदवार पौडेलले “अबको चुनाव केवल मत माग्ने अभियान होइन, जनताको भरोसा जित्ने अभियान हो” भन्दै रौतहट-४ का मुख्य एजेन्डा सार्वजनिक गरेका थिए। उनका अनुसार

  1.  शिक्षा, स्वास्थ्य र रोजगार – हाम्रो अधिकार
  2.  सीप र उद्योग – रोजगारीका स्रोत
  3.  सडक, सिँचाइ र शिक्षा – रौतहट-४ को नयाँ कार्यदिशा

रहेका छन्। उनले सबै एजेन्डामा शिक्षालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

वडा क्षेत्रका सबै वडालाई नमुना वडाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार पौडेलले पारदर्शी र जवाफदेही नेतृत्वको आवश्यकता औँल्याए।

स्थानीय बासिन्दाले पनि परिवर्तनको अपेक्षा राख्दै यसपटक सक्षम र इमानदार नेतृत्व चयन गर्ने मनस्थिति बनाइसकेको बताएका छन्। “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए।

चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको अवस्थामा चन्द्रपुर-५ मा देखिएको सक्रियता र जनउत्साहले आगामी प्रतिस्पर्धा झन् रोचक बन्ने संकेत गरेको छ। मतदाता भेटघाटलाई निरन्तरता दिँदै प्रत्येक टोलमा पुगेर प्रत्यक्ष संवाद गर्ने योजना रहेको पार्टी स्रोतले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको