बर्दिबास। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार अभियुक्त तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी कडा पारेको छ। निर्वाचन नजिकिँदै जाँदा मधेस क्षेत्रमा सम्भावित सुरक्षा जोखिम बढ्न सक्ने विश्लेषणका आधारमा प्रहरीले गाउँ-गाउँमा खोजी अभियान तीव्र बनाएको जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो अभियानमा विभिन्न प्रकृतिका अपराधमा संलग्न ९९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालु मुद्दाका ३९ जना प्रतिवादी, अदालतको फैसला कार्यान्वयनतर्फ ५६ जना तथा कारागार तोडेर वा अन्य तरिकाले फरार रहेका ४ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र कुमार भट्टले चुनावी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै फरार सूचीमा रहेका, हतियारसम्बन्धी गतिविधिमा संलग्न तथा बाहिर बसेर आपराधिक सञ्जाल सञ्चालन गर्न सक्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर पक्राउ गरिएको बताए। “निर्वाचनको वातावरण शान्त, सुरक्षित र भयरहित बनाउन कानुनी दायराबाहिर रहेका सबैलाई नियन्त्रणमा ल्याउने काम जारी छ,” उनले भने।
यसैबीच सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू जिल्लाका संवेदनशील बस्ती तथा मुख्य आवागमन मार्गहरूमा संयुक्त रूपमा पैदल गस्तीमा खटिएका छन्। विगतका आन्दोलन, जेल तोडेर फरार भएका कैदीबन्दी तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिले निर्वाचन सुरक्षामा चुनौती थप्न सक्ने आकलन गर्दै सुरक्षा निकायले अग्रिम तयारी बलियो बनाएको जनाएको छ।
प्रहरीले फागुन २१ गते हुने निर्वाचनसम्म खोजी, निगरानी तथा संयुक्त गस्तीलाई अझ सघन बनाउने योजना अघि बढाएको छ।









