मलंगवा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई


१ फागुन, सर्लाही। सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा व्यवस्थापन सेनाले सम्हालेको हो।

मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ जनाको सैनिक टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिँदै आएका थिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको थियो। सोही निर्णय कार्यान्वयनका क्रममा मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको जनाइएको छ।

कालीध्वज गण, नवलपुर पाँचकुमारीका गणपति उमेश खड्काका अनुसार सेनाको टोलीले कारागारको सुरक्षा जिम्मेवारी सम्हालिसकेको छ। सरकारको निर्देशनअनुसार सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको उनले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको