२८ माघ, गौशाला। महोत्तरीमा गौशाला इन्जिनियरिङ्ग क्याम्पसको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ। बुधबार आयोजित एक विशेष समारोहबीच क्याम्पसको नयाँ भवन औपचारिक रूपमा उद्घाटन गरिएको हो।
राजर्षि जनक विश्वविद्यालयका उप-कुलपति प्रा. डा. अमर प्रसाद यादव र गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको संयुक्त कर-कमलबाट भवन उद्घाटन गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै उप-कुलपति प्रा. डा. यादवले प्राविधिक शिक्षाको विकासले राष्ट्र निर्माणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो। नव-निर्मित भवनले इन्जिनियरिङ अध्ययनलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास व्यक्त गर्दै उहाँले विश्वविद्यालय र स्थानीय तहबीचको सहकार्यले शैक्षिक पूर्वाधार विस्तारमा सकारात्मक परिणाम दिएको बताउनुभयो।
कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतोको विशेष सहयोग र पहलप्रति कृतज्ञता व्यक्त गरिएको थियो। नगर प्रमुख महतोले शिक्षाक्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, क्याम्पस प्रमुख ई. प्रेम चन्द्र रायले नव-निर्मित भवनले विद्यार्थीहरूलाई आधुनिक र व्यवस्थित अध्ययन वातावरण प्रदान गर्ने बताउनुभयो। प्राविधिक जनशक्ति उत्पादनमा क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा उहाँले राख्नुभयो।
नवनिर्मित भवनमा कक्षाकोठा, प्रयोगशाला तथा प्रशासनिक कक्षहरू व्यवस्थित रूपमा निर्माण गरिएको छ। स्थानीय समुदायले यस उपलब्धिलाई गौशालाको शैक्षिक इतिहासमा महत्वपूर्ण कदमका रूपमा लिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









