२८ माघ, जनकपुरधाम। जनकपुर-यदुकाहा सडकखण्डअन्तर्गत बेलौनी र पौडेश्वरको बीचमा एक महिलाको शव फेला परेको छ। प्रहरीले मृतक जनकपुरधामस्थित गोदावरी अस्पतालमा कार्यरत स्टाफ नर्स हेल्मा खातुन रहेको जनाएको छ।
धनुषाको बिदेह नगरपालिका-९ तरही निवासी खातुनको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। गएराति घटना भएको आशंका गरिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको प्रकृति र संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको छ।
दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ।









