महोत्तरी-१ को चुनावी माहोल उत्कर्षमा
२७ माघ, महोत्तरी। महोत्तरी क्षेत्र नम्बर-१ अन्तर्गत बर्दिबासमा आज नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको आगमन हुँदैछ। एकै दिन दुई शीर्ष नेताको उपस्थितिले बर्दिबासको चुनावी वातावरण तातेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज दिउँसो ४ बजे बर्दिबासस्थित कांग्रेसको चुनाव प्रचार-प्रसार कार्यालयमा आयोजित विशेष कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यतालिका छ। पार्टी सभापतिको प्रत्यक्ष उपस्थितिलाई महोत्तरी-१ मा कांग्रेसको चुनावी अभियानका लागि महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।
महोत्तरी-१ बाट नेपाली कांग्रेसका तर्फबाट डा. मुकेश काफ्ले उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। गगन थापाको उपस्थितिले काफ्लेको उम्मेदवारीलाई थप मजबुत बनाउने र कांग्रेस कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थप्ने विश्वास पार्टीले लिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि आज साँझ ४ बजे बर्दिबास नगरपालिकाको मुख्री चौकमा पुग्ने कार्यक्रम छ। उनी रास्वपाका उम्मेदवार प्रमोद कुमार महतोसहित स्थानीय मतदातासँग भेटघाट तथा संवाद गर्नेछन्।
राजनीतिक विश्लेषकहरूका अनुसार आजको दिन बर्दिबास केन्द्रित महोत्तरी-१ को प्रतिस्पर्धा थप चर्किने देखिएको छ। एकै दिन फरक-फरक दलका शीर्ष नेताको आगमनले मतदाता तानातान, शक्ति प्रदर्शन र राजनीतिक सन्देशको प्रतिस्पर्धा स्पष्ट हुने अनुमान गरिएको छ।









