बर्दिवासको नमुना मुसहर बस्तीमा उम्लिएको दूधले नुहाएर भुइँया पूजा


२६ माघ, महोत्तरी। बर्दिवासस्थित नमुना मुसहर बस्तीका मुसहर समुदायले उम्लिरहेको तातो दूधले नुहाएर भुइँया पूजा सम्पन्न गरेका छन्। समुदायले आफ्नो कुलदेवता दीना-भद्रीलाई स्मरण गर्दै भुइँया महाराजको विशेष पूजा गरेका हुन्।

भुइँया बाबाको प्रतीकका रूपमा तीन जना बालकले उम्लिएको दूधले स्नान गरेको नमुना मुसहर बस्तीका युवा अगुवा मञ्जय सदाले जानकारी दिए। उनका अनुसार मुसहर समुदायका कुलदेवता दीना-भद्रीलाई नै भुइँया महाराजका रूपमा पूज्ने गरिन्छ र यो पूजा माघ महिनामा मनाउने परम्परा छ।

भाकल पूरा भएपछि पान, मखान, लड्डु, खीर, रोटी, सुपारीलगायत विभिन्न परिकार चढाउने तथा बाँसको धाजामा तीर-धनुष बनाएर विधिपूर्वक पूजा गर्ने चलन रहेको सदाले बताए। कुलदेवताको स्मरण गर्दै तातो दूधले स्नान गर्दा शरीर नपोल्ने विश्वास समुदायमा रहिआएको उनले उल्लेख गरे।

मुसहर समुदायका अनुसार उम्लिरहेको दूधमा स्नान गर्नु विज्ञानभन्दा पनि धार्मिक आस्था र सांस्कृतिक विश्वाससँग जोडिएको परम्परा हो। पूर्वजहरूले परापूर्वकालदेखि गर्दै आएको यो अनुष्ठानलाई सनातनी शक्तिको प्रतीकका रूपमा लिइन्छ।

के हो भुइँया पूजा ?

‘भुइँया’ शब्दले स्थानीय भाषामा धर्ती, जमिन वा माटोलाई जनाउँछ। त्यसैले भुइँया पूजालाई प्रकृतिपूजाका रूपमा पनि लिने गरिन्छ। परम्पराअनुसार छैटौँ शताब्दीमा हालको सप्तरी जिल्लामा जन्मिएका दीना-भद्री दाजुभाइको स्मरणमा गरिने पूजा नै भुइँया पूजा हो।

भाषा तथा संस्कृति अभियन्ता फुलगेन मगहीका अनुसार दीना-भद्री मुसहर समुदायका कुलदेवता तथा अन्याय, अत्याचार र शोषणविरुद्ध लड्ने वीर योद्धाका रूपमा इतिहासमा वर्णित छन्। मुसहर समुदायले उनीहरूलाई भुइँया महाराजका रूपमा सम्बोधन गर्दै आएको छ।

मगहीका अनुसार मुसहर कुलमा जन्मिए पनि दीना-भद्रीले सम्पूर्ण समाजको हितका लागि काम गरेको ऐतिहासिक विश्वास समुदायमा रहिआएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको