बालेन शाह महोत्तरीका चारै क्षेत्रमा, बर्दिबासलाई विशेष समय


महोत्तरी-१ मा उत्साहको बाटो थपिएको राजनीतिक संकेत

२६ माघ, महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको महोत्तरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा पुग्ने कार्यतालिका रहे पनि बर्दिबासलाई विशेष प्राथमिकतामा राखिएको महोत्तरी क्षेत्र नम्बर-१ का उम्मेदवार प्रमोद कुमार महतोको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बालेन शाहले महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नेछन्। कार्यतालिकाअनुसार उनी मंगलबार अपराह्न ३ बजे महोत्तरीको सदरमुकाम जलेश्वर (घण्टी घर) पुग्नेछन्। त्यसपछि ३ः२० मा एकदरा र ३ः४० मा बलवा-सर्पल्लो क्षेत्रमा मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

कार्यक्रमका क्रममा बालेन शाह साँझ ठीक ४ बजे बर्दिबास नगरपालिकाको मुख्य चौक पुग्नेछन्। मुख्यचौकमा रास्वपाका उम्मेदवार प्रमोद कुमार महतोसहित स्थानीय मतदातासँग भेटघाट तथा छोटो संवाद कार्यक्रमपछि बालेन शाह बर्दिबासमै विश्राम गर्ने तय भएको सचिवालयले जनाएको छ।

रास्वपाका प्रतिनिधिसभा उम्मेदवार प्रमोद कुमार महतोको निर्वाचन क्षेत्र महोत्तरी-१ अन्तर्गत पर्ने बर्दिबासमा बालेन शाहले अन्य क्षेत्रको तुलनामा बढी समय दिने कार्यक्रम तय हुनुले महोत्तरी-१ लाई पार्टीले निर्णायक क्षेत्रका रूपमा लिएको स्पष्ट राजनीतिक सन्देश दिएको छ।

राजनीतिक वृत्तमा यसलाई क्षेत्र नम्बर-१ मा रास्वपाको चुनावी अभियानमा उत्साहको बाटो थपिएको रूपमा हेरिएको छ। लामो समयदेखि परम्परागत दलको प्रभावमा रहेको मानिने यो क्षेत्रमा बालेन शाहको प्रत्यक्ष उपस्थितिले युवा, शहरी तथा परिवर्तनकामी मतदातामा नयाँ ऊर्जा थपिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

विशेषतः बर्दिबास जस्तो शहरी र आर्थिक गतिविधिको केन्द्रमा केन्द्रित कार्यक्रमले महोत्तरी-१ मा रास्वपाको सन्देशलाई तीव्र रूपमा फैलाउने र प्रतिस्पर्धी दलहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने आँकलन गरिएको छ। यसले प्रमोद कुमार महतोको उम्मेदवारीलाई थप बलियो बनाउँदै चुनावी प्रतिस्पर्धालाई नयाँ मोडतर्फ धकेल्ने संकेतसमेत दिएको छ।

बालेन शाहको महोत्तरी भ्रमणले जिल्लाका चारै निर्वाचन क्षेत्रमा पार्टीको उपस्थितिलाई मजबुत बनाउने भए पनि, बर्दिबासलाई दिएको विशेष समयले महोत्तरी-१ मा परिवर्तनको राजनीतिक लहर सुरु भएको सन्देश प्रवाह गरेको देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको