२६ माघ, गौशाला-राजेश सिंह। महोत्तरीको गौशाला नगरपालिका-५ स्थित गौशाला बजारमा लामो समयदेखि प्रतीक्षारत ढल निकास निर्माण योजना अन्ततः कार्यान्वयन चरणमा प्रवेश गरेको छ। उक्त योजनाको आज गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले विधिवत रूपमा शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख डा. महतोले गौशाला बजारको दिगो विकासका लागि ढल निकास योजना अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। ढल व्यवस्थापनको अभावका कारण बजार क्षेत्रमा स्वास्थ्य, सरसफाइ तथा वातावरणीय समस्या देखिँदै आएको उल्लेख गर्दै उहाँले यस आयोजनाले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख महतोका अनुसार ढल निकास निर्माणका क्रममा विभिन्न चुनौतीहरू आउन सक्ने देखिएको छ। साँघुरा सडक, अव्यवस्थित संरचना, बजार क्षेत्रको अत्यधिक चाप तथा निर्माण अवधिमा स्थानीय व्यवसायमा पर्न सक्ने असर प्रमुख चुनौतीका रूपमा रहेका छन्। साथै, निर्माण कार्यका कारण यातायात व्यवस्थापन तथा सर्वसाधारणको दैनिक गतिविधिमा केही असहजता आउन सक्ने जनाइएको छ।
नगरपालिकाले स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै समस्यालाई क्रमशः समाधान गरी निर्माण कार्य अघि बढाइने जनाएको छ। योजना तोकिएको समयभित्र सम्पन्न होस् भन्ने उद्देश्यले निर्माण व्यवसायीलाई गुणस्तरीय र जिम्मेवार रूपमा काम गर्न निर्देशनसमेत दिइएको छ।
ढल निकास योजना सुरु भएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्। लामो समयदेखि भोग्दै आएको दुर्गन्ध, जलजमाव तथा स्वास्थ्य जोखिम अब क्रमशः अन्त्य हुने अपेक्षा उनीहरूले गरेका छन्।
आयोजना खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरधाम, धनुषाको नियोक्तमा वि. एण्ड वि. वि. आई. पि. एल. जे.भी. निर्माण व्यवसायी मार्फत ठेक्का नं. NCB-4/081–82/FWSSMP/Janakpur अनुसार अघि बढाएको छ। आयोजना २०८२ साउन २३ मा सम्झौता भई २०८४ साउन २५ भित्र सम्पन्न गर्नुपर्नेछ। आयोजनाको कुल लागत रु. १३,५३,६७,९२०।७६ (भ्याट र पी.एस. सहित) रहेको छ।









