२६ माघ, वीरगन्ज। आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका-१० आदर्शनगरमा मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको ‘सबिता ट्रेडर्स’को गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा टोली पुगेको थियो।
राजश्व छली गरी भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा गरिएको छापाका क्रममा १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी तथा अन्य कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले जानकारी दिए।
खानतलासीका क्रममा स्थानीय ट्रान्सपोर्ट व्यवसायी र कर्मचारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ। आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने प्रहरीका दुई वटा गाडीमा तोडफोड गरिएको थियो। घाइते सुरक्षाकर्मी उपचारपछि ब्यारेक फर्किएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ पर्नेमा आदर्शनगरस्थित जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफ रहेका छन्।
ट्रान्सपोर्ट सञ्चालक मदन प्रसाद गुप्ताले भने घटनामा संलग्न नभएका आफ्ना कर्मचारीलाई पक्राउ गरिएको दाबी गरेका छन्।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीका अनुसार अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरीका अनुसार गोदाममा खानतलासी प्रक्रिया सुरु गर्ने क्रममा व्यापारीहरूले बिलबिजक आफूसँग रहेको दाबी गर्दै विरोध जनाएका थिए। त्यसपछि प्रहरी टोलीले गोदामको ताल्चा फुटाउन खोज्दा अवस्था तनावग्रस्त बनेको र केही व्यक्तिले बाँसका फाटा र ढुंगाले प्रहरी तथा गाडीमा प्रहार गरेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









