सिआइबीको असई भन्दै ठगी गर्ने महिला रौतहटबाट पक्राउ


रौतहट। सिआइबी (केन्द्रीय अनुसन्धान ब्युरो) को असई हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्ला कबिलासी नगरपालिका-१० सलेमपुर टोल निवासी निर्मला महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।

प्रहरीका अनुसार महतोले कहिले ‘नेहा’, कहिले ‘निशा’ तथा कहिले ‘पुनम कुमारी’ नाम प्रयोग गर्दै आफू सिआइबीको असई भएको बताई विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै आएकी थिइन्। उनीविरुद्ध चन्द्रपुर नगरपालिका निवासी सन्तोषबहादुर विश्वकर्मा, गुजराका विजय साह बनिया, चन्द्रपुरकै प्रविण साह तथा सर्लाहीका राजेश्वर साहले उजुरी दिएका छन्।

उजुरीअनुसार राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा चिनजान भएको थियो। महतोले मलङ्गवा भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दै सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएकी थिइन्। पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले राजेश्वर साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र ६/७ वटा पासपोर्ट साइज फोटो मागेकी थिइन्। त्यसपछि भन्सार कर तिर्नुपर्ने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ।

यस्तै, सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा लिएको सुनचाँदीको गहनाको दुई लाख ७४ हजार रुपैयाँ, विजय साह बनियासँग घरायसी समस्या देखाई सापटी लिएको पाँच लाख रुपैयाँ, तथा प्रविण साहको किराना पसलबाट उधारोमा लिएको सामान र स्कारपियो गाडी भाडामा लिएर बाँकी राखेको एक लाख २६ हजार रुपैयाँसमेत ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रतिवादीले पुनम कुमारीको नाममा माछापुच्छ्रे बैंक, चन्द्रपुर शाखामा खोलिएको खाताबाट पर्याप्त मौज्दात नभएको चेकमा रकम उल्लेख गरी, पुनम कुमारीकै हस्ताक्षर नक्कल गर्दै विभिन्न व्यक्तिलाई चेक दिई ठगी गरेको पाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको