क्षेत्र नम्बर ३ मा जनमत पार्टीको संगठन थप सुदृढ
२५ माघ, सप्तरी- चन्दन रजक। सूर्यनारायण यादवको नेतृत्वमा सयौँ युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने विष्णुपुर गाउँपालिकाका बुद्धिजीवी सूर्यनारायण यादवको अगुवाइमा राजविराजमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा युवाहरू जनमत पार्टीमा आबद्ध भएका हुन्।
यसअघि विभिन्न राजनीतिक दलमा सक्रिय रहेका क्षेत्र नम्बर ३ का सयौँ युवाहरू जनमत पार्टीको सिद्धान्त, विचार र एजेन्डाबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको जनाइएको छ। मधेस केन्द्रित राजनीति, सुशासन र उत्पीडित समुदायको पक्षमा जनमत पार्टीले उठाउँदै आएको आवाजले आफूहरू आकर्षित भएको नवप्रवेशी युवाहरूको भनाइ छ।
पार्टी प्रवेश कार्यक्रममा प्रभावशाली युवा नेता सत्येन्द्र यादवले युवाहरूको नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस्तै, इन्जिनियर सञ्जीव नारायण यादवले इन्जिनियर समुदायको नेतृत्व गर्दै पार्टी प्रवेश गराएका छन्।
नवप्रवेशी युवाहरूले जनमत पार्टीले मधेसका पछाडि पारिएका विपन्न समुदाय, दलित, मुस्लिम, सदा लगायतका पीडित तथा उत्पीडित वर्गको आवाज बुलन्द गर्दै आएको उल्लेख गरे। पार्टी अध्यक्ष डा. सीके राउतले उत्पीडनमा परेका वर्ग, क्षेत्र र समुदायलाई राजनीतिक निकास दिने विश्वासका कारण आफूहरू जनमत पार्टीमा आबद्ध भएको उनीहरूको भनाइ छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका संसदीय दलका नेता तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री माननीय महेश यादवले संघीयताको रक्षा, मधेस र मधेशी पहिचानको संरक्षणका लागि जनमत पार्टीलाई बलियो बनाउन आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराई संसदसम्म पठाउन मतदातासँग आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख जयकान्त राउत, प्रेस जनमतका अध्यक्ष अवधेश कुमार झा, सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र शर्मा लगायत पार्टीका विभिन्न तह र तप्काका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









