मलंगवा प्रादेशिक अस्पतालमा म्याद सकिएका औषधि गोदाममै थन्किए, परिसरमै जलाएर नष्ट


२५ माघ, सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको गोदाममा ठूलो परिमाणमा म्याद सकिएका औषधि फेला परेका छन्। बिरामीलाई समयमै औषधि उपलब्ध गराउन नसक्दा ती औषधि वितरण नभई गोदाममै थन्किएको र पछि म्याद गुज्रिएपछि अस्पताल परिसरमै जलाएर नष्ट गरिएको जनाइएको छ।

अस्पताल स्रोतका अनुसार विभिन्न समयमा आपूर्ति गरिएका औषधि व्यवस्थित भण्डारण तथा समयमै वितरण नहुँदा लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिएका थिए। म्याद सकिएपछि ती औषधि अस्पताल परिसरको शवगृह नजिकै जलाएर नष्ट गरिएको हो।

हाल बिदामा रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले आफू अस्पतालमा आएको एक महिना मात्र भएको उल्लेख गर्दै म्याद सकिएका औषधि आफ्नो कार्यकालअघिकै रहेको बताए। “म आएको एक महिना मात्रै भयो, यी औषधि पहिलेदेखिकै हुन्,” उनले भने, “मैले कसैलाई औषधि जलाउन निर्देशन दिएको छैन। यदि त्यसो गरेको पाइएमा आवश्यक कारबाही गरिनेछ।”

यता, अस्पतालमा आवश्यक औषधि नपाइने गुनासो गर्दै सेवाग्राहीहरूले बिरामीलाई निजी मेडिकल पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य बनाइएको आरोप लगाएका छन्। “अस्पतालमा औषधि छैन भनेर फर्काइन्छ, तर गोदाममै कुहिएका औषधि जलाएर नष्ट गरिन्छ,” एक सेवाग्राहीले आक्रोश व्यक्त गरे।

स्थानीयवासीले स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको दाबी गर्दै औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता तथा नियमित अनुगमनको अभाव रहेको भन्दै छानबिनको माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको